२०२४ का शीर्ष १० उत्कृष्ट नेपाली चलचित्रका गीतहरू

Movies

आजकाल नेपाली चलचित्रहरुमा नेपाली मौलिक संगीतको प्रयोग पर्याप्त रुपमा गरेको देखिन्छ। पूर्वीय लोकदेखि पश्चिमा भाकासम्म र लोक दोहोरीदेखि परम्परागत नेपाली बाजाको प्रयोगले नेपाली संगीतमा भारतिय संगीतको नक्कल नभइ आफ्नै मौलिकता झल्किएको पाइन्छ। 

यो वर्ष धेरै नेपाली चलचित्रका गीतहरुले दर्शकको मन जित्न सफल भएका छन् । यी बाट, आज हामी 2024 मा रिलिज भएका शीर्ष 10 नेपाली चलचित्र गीतहरूको लिस्ट गर्नेछौं। यो सूची उनीहरूको लोकप्रियता, रचना, गायन र यसले समाजमा सिर्जना गरेको प्रभाव को आधारमा गरिएको छ। 

१०) “कसम बत्तिको” – ज्वाइ साब 

“कसम बत्तिको” नेपाली चलचित्र ज्वाइ साब को एक रोमान्टिक गीत हो जसले प्रेम र भावना को विषयलाई समेट्ने प्रयास गर्दछ। लोक दोहोरि जन्रको यो गीतले प्रेममा पिरोएका दुई पात्र बीचको प्रेम सम्बन्ध र वचनलाई चित्रण गर्दछ। 

यो गीतमा केही नयाँ नभए पनि सरल सब्द र गीतको भिजुवोलाइजेसनले यो  गीतलाई यादगार बनाउंछ ।  ज्वाई साब चलचित्र को यो गीत मा निशान भट्टराई र समीक्षा अधिकारी को आवाज को साथै अर्जुन पोखरेल को संगीत रहेको छ।

९ ) “दर्शन गरे” – पुजार सार्की 

पुजार सार्कीको यो गीतले मगर समुदायको परम्परागत कौडा नृत्यलाई चित्रन गरेको छ । यो गीतले नेपालका सांस्कृतिक परम्पराहरूलाई आधुनिक संगीतको माध्यमबाट झल्काउने प्रयास गरेको देखिन्छ। हर्क साउदको शब्द, प्रकाश सपुत र शान्ति श्री परियारको गायन, र शिशिर खातीको कोरियोग्राफीले गीतलाई मधुर र मीठो बनाएको छ। 

८ ) “ब्रेकअप सङ्ग” फिल्म छक्का पन्जा ५ 

छक्का पन्जा ५ को यो रमाइलो गीतले हास्यात्मक शैलीमा दिल टुटेको पीडालाई चित्रण गर्दछ। बाबुल गिरीद्वारा संगीतबद्ध यस गीतमा बाबुल गिरी र दीपाश्री निरौलाको आवाजको साथै दीपाश्री निरौलाकै र माग्ने बुढाले परिचित केदार घिमिरेको अभिनय रहेको छ।  

यो गीतको लय उत्साहजनक छ भने शब्दहरूले प्रेम विछोडको पीडालाई रमाइलो तरिकाले प्रस्तुत गरेको छ। छक्का पन्जा ५ को हास्यप्रधान कथासँग मेल खाने यो गीतले दर्शकहरूलाई भावनात्मक रूपमा जोड्न सफल भएको छ। यसको प्रस्तुति र तालले गीतलाई अझ आकर्षक बनाएको छ।

छक्का पन्जा चलचित्रबाट दर्शकहरूले सधैं राम्रा गीतहरूको अपेक्षा गर्छन्, र यो गीत पहिलेका चलचित्रहरूका गीतहरूजस्तै उत्कृष्ट नभए पनि यो अझै पनि एउटा अविस्मरणीय गीत हो जुन हाम्रो सूचीमा ८ नम्बरमा पर्न योग्य छ।

७ ) “छडके सलाम” – बेहुली फ्रम मेघौली 

जोश र उर्जाले भरिएको यो गीतमा परम्परागत नेपाली धुन र समकालीन संगीत शैलिहरूको मिश्रन गरिएको देखिन्छ।  बिहेको सेटिन्गमा खिचिएको यो गीतमा समूह गायन र रमाइलो शब्दहरू छन्, जसले फिल्मको कथानकमा प्रेम, परिवार र सम्बन्धमा सन्तुलनको खोजलाई दर्शाउँछ।  

पूर्बेली भाकाको कोरस साथै मादल र पञ्चे बाजा को प्रयोगले यो गीतलाई सुमधुर बनाएको छ। गीतमा कालीप्रसाद बाँस्कोटा, बबिना किराती र निश्चल बस्नेतले स्वर दिएका छन् ।

६ ) “राई माईला” – गाउँ आएको बाटो

गाउँ आएको बाटो चलचित्रको यो गीतले ग्रामीण जीवनशैलीमा आएको परिवर्तन र त्यसले ल्याएको चुनौतीलाई दयाहन्द राईको चरित्रबाट प्रस्तुत गर्दछ। यो फिल्मले नयाँ बाटोले गाउँलाई बाहिरी दुनियासँग जोड्दा त्यहाँका परम्परागत जीवनशैलीमा परेको प्रभावलाई देखाउँछ।

गीतले आधुनिकता र परम्पराको यो द्वन्द्वलाई सांस्कृतिक र भावनात्मक रूपले उजागर गर्छ। श्रवण मुकारुङको सुन्दर शब्दले रचिएको यो गीतलाई कालीप्रसाद बाँस्कोटाको संगीत र सुनिता थेगिमको स्वरले न्याय दिएको छ । यसको मार्मिक शब्द र संगीतले श्रोताको मन छुने कथालाई चित्रण गर्न सफल भएको छ ।

५ ) “सवारी मेरो रेलैमा (रिप्राइज)” – डिग्री माइलो

लोक र जातीय संगीतमा आफ्नो गहिरो अनुसन्धान र कामका लागि परिचित झुमा लिम्बुद्वारा प्रस्तुत गरिएको यो गीत मेल्वा देवीको सम्मानमा तयार पारिएको हो। मेल्वा देवीलाई नेपालकै प्रथम नेपाली गायिका साथै एक दिग्गज नेपाली गाईकाको रूपमा चिनिन्छ।  झुमा लिम्बुले मेल्वा देवीको यो गीतलाई आधुनिक शैलीमा प्रस्तुत गर्दै नयाँ पुस्ताबीच चिनाउने प्रयास गरेकी छन्।

चलचित्र डिग्री माइलो मा यो गीत ग्रामीण जीवन र प्रेमकथाको पृष्ठभूमिमा प्रस्तुत गरिएको छ। गीतले फिल्मको कथा र पात्रहरूको भावना अझ प्रस्ट्याउन सहयोग पुर्‍याएको छ। यो गीत परम्परालाई सम्मान गर्दै नवप्रवर्तनलाई आत्मसात् गर्ने राम्रो उदाहरण हो। 

४ ) “बुझिन मैले” – बोक्सी को घर 

समाजमा रहेको लैंगिक असमानता र “बोक्सी” को रूपमा महिलाहरूलाई कस्ट गर्ने परम्परागत सोचमाथि व्यंग्य गरिएको फिल्म “बोक्सी को घर” को यो गीतले त्येहि परम्परागत सोचमाथि प्रकास पारेको छ।  “यो गीतले महिलाहरूको सुन्दरताको प्रशंसा गर्ने तर उनीहरूले आफ्नो विचार व्यक्त गर्दा किन दमन गरिन्छ भन्ने प्रश्न उठाउँछ।

केकि अधिकारीको सुन्दर अभिनय देखिने यो गीतमा प्रकाश सपुत र समीक्ष्या अधिकारीको मनमोहक गायन, र राम्रो कोरियोग्राफी तथा निर्माण डिजाइनका कारण लोकप्रिय भएको छ । यो गीतको शब्दहरूले महिलाहरूको संघर्ष र विभेदलाई चित्रण गर्दै, तिनको पीडा बुझ्न र उनीहरूप्रति सहानुभूति गर्न आग्रह गर्छन्। 

३ ) ​”सात लाइन प्रार्थना” – शम्भाला 

प्रार्थनाले गुरु प्रतिको श्रद्धा व्यक्त गर्दै उनको उपस्थितिलाई साधकको जीवनमा प्रेरणा दिने लक्ष्य राख्छ। अनी छोइङको आत्मीय स्वर र संगीतले यस प्रार्थनाको आध्यात्मिक गहिराईलाई झल्काउँदै ध्यानात्मक वातावरण सिर्जना गर्छ। यो प्रार्थनालाई आधुनिक संगीतमार्फत विश्वव्यापी रुपमा पहुँचयोग्य बनाइएको छ।

आनी छोइङ डोल्माले शम्भाला फिल्मका लागि प्रस्तुत गरेको यो गीत गुरु रिन्पोचे (पद्मसम्भव) को सम्मानमा गरिएको परम्परागत बौद्ध प्रार्थना हो। तिब्बती बौद्ध धर्ममा गहिरो आध्यात्मिक महत्त्व राख्ने यो गीतले गुरु रिन्पोचेको आशीर्वाद र मार्गदर्शनको आह्वान गर्दछ । फिल्ममा प्रयोग गरिएको यो प्रार्थनाले मानव जीवन र आध्यात्मिक सम्बन्धका बिचको पुलका रूपमा काम गरेको छ। शम्भाला को सन्दर्भमा, यो गीतले कथा र क्षेत्रीय धार्मिक परम्परा बिचको सम्बन्धलाई अझ प्रस्ट्याउने काम गर्दछ।

यो फिल्म, जसले बहुपतित्व, निष्ठा, र मातृत्व जस्ता विषयहरूलाई माथि उठाउँदै नेपालको डोल्पाको सुन्दर पहाडी परिवेशमा प्रस्तुत गरेको छ , त्यही सान्दर्भिक वातावरणलाई बल दिन संगीतको राम्रो प्रयोग भयेको छ । न्यहु बज्राचार्यद्वारा संगीतबद्ध यो गीतले कथाका संवेदनशील क्षणहरूलाई थप गहिरो बनाएको छ।

२ ) “काधेकुरी” – पूर्ण बहादुरको सारङ्गी 

पूर्ण बहादुरको सारङ्गी को यो गीतले संघर्ष, धैर्य र सांस्कृतिक पहिचानका विषयलाई समेटेको छ। यो गीत नेपालका गन्धर्व समुदायका कठिनाइहरू, जातीय विभेद, र आत्म-सम्मानको खोजीलाई उजागर गर्ने कथा पछाडिको पृष्ठभूमिमा आधारित छ। 

प्रशान्त सिवाकोटीद्वारा रचिएको र गाइएको यो गीतले परम्परागत नेपाली लोकधुनलाई आधुनिक सिनेमाटिक शैलीसँग मिसाएर भावुक र सोचमग्न वातावरण सिर्जना गरेको छ। यो गीतको शब्दले विजय बरालको चरित्रलाई दर्शकमाझ उभिन मद्दत गरेको छ ।

यो वर्षको सबैभन्दा सफल चलचित्र हुनुका साथै यस चलचित्रको संगीत पनि दमदार रहेको छ र यसले चलचित्रको विषयवस्तुलाई थप जोड दिएको छ । यस चलचित्रका अधिकांश गीतहरू उत्कृष्ट छन्, तर हामीले यो सूचीमा चलचित्रको एउटा गीत मात्र लिइरहेका छौं। यो गीतले हाम्रो सूचीमा नम्बर 2 को योग्यतापूर्वक स्थान लिएको छ।

१ ) “रुकुम मईकोट”  – खुस्मा 

टिकटक र युट्युब जस्ता प्लेटफर्ममा अत्यधिक लोकप्रियता हासिल गरेको यो गीतलाई कमैले नसुनेको होला। मनमोहक शब्द, हुकिङ डान्स स्टेप र सुन्दर दृश्यले यस गीतलाई नेपाली दर्शकमाझ लोकप्रिय बनाउन मद्दत गरेको छ ।

नेपाली चलचित्र खुस्मा को यो गीतले ग्रामीण नेपालको सार, विशेष गरी रुकुमको सुन्दरता र संस्कृति, उजागर गर्दछ। यो गीतले प्रेम र प्रेममा चाहिने धैर्यताका विषयवस्तुहरूलाई पहाडी पृष्ठभूमिमा चित्रण गरेको छ ।

परम्परागत लोकधुनमा आधुनिक संगीत संयोजन गरेको यो गीतलाई एसडी योगी र शान्ति श्री परियारले सहजै गाएका छन। खुस्मा चलचित्र हाम्रो टप १० चलचित्रको लिस्टमा पर्न सफल नभए पनि यो चलचित्रको रुकुम मईकोट गीत भने पहिलो नम्बरमा पर्न सफल भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *